काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा मुख खोलेपछि अब समानुपातिक निर्वाचन प्रणालीसँगै संविधानका अन्य विषय समेत संशोधन हुने संकेत देखिएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने, ‘समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसदमा दुई तिहाइ चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौँ।’
कुनै पनि विषयमा झट्ट धारणा सार्वजनिक गर्ने सभापति देउवाले शनिबार भने समानुपातिक निर्वाचन प्रणाली हटाउन संविधान संशोधन गर्न सकिने बताएका हुन् । सभापति देउवाले यसरी सार्वजनिक रुपमा संविधान संशोधनको विषय उठाएपछि यो अब राजनीतिक वृत्तमा बहशको विषय बन्ने निश्चित छ ।
त्यसोत अहिलेको प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा समेत दलकै नेताहरुले धारणा व्यक्त गर्ने गरेका छन् । प्रदेश संरचना खारेज गर्नुपर्ने पक्षमा नेकपा एमालेकै केही नेताहरु समेत देखिएका छन् । यता पछिल्लो चुनावबाट राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राप्रपासम्मका दलहरु प्रदेश संरचना खारेजीको पक्षमा छन् ।
संविधान संशोधनको एजेण्डा यदी सबै दलको बन्यो भने संघीयताका बारेमा समेत बहश उत्कर्षमा पुग्ने आँकलन समेत गर्ने गरिन्छ । त्यसबाहेक धर्मनिरपेक्षताको विषय समेत संशोधनको एजेण्डा बन्नसक्छ । धर्मनिरपेक्षताका बारेमा धेरै जोडबल दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत प्रधानमन्त्रीको पबुपतिनाथदेखि महाकालेश्वरसम्मको यात्राले समेत यो विषयले प्रवेश पाउनसक्ने देखिएको हो ।
प्रतिक्रिया