काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक नबसेको १० महिना भइसक्यो । प्रतिपक्षमा हुँदा बैठक बसिरहने कांग्रेसको बैठक सत्तारोहणसँगै ओझेलमा परेको छ । विधानमा व्यवस्था नभएपनि पदाधिकारी बैठक भने बेलाबेलामा बस्ने गरेको छ ।
यता केही निर्णय गर्नुपर्ने भएमा कार्यसम्पादन समितिको बैठक समेत बोलाउने गरिएको छ । तर केन्द्रीय समिति बैठक भने बस्न सकेको छैन । बैठक बस्न नसकेको भएपनि नेताहरुका बिचमा सार्वजनिक कार्यक्रममा आरोप प्रत्यारोप भने निरन्तरता पाइरहेको छ ।
शुक्रबार मात्रै डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा नेताहरु आरोप प्रत्यारोपमा उत्रिए । सभापति शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा महामन्त्री गगन थापाले एउटै व्यक्ति दुई पटकभन्दा बढी किन प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न गरे ।
‘एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने ? दुई, तीन, चारपटक प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन,’ उनले भने, ‘विधिसँग जोडिएको प्रश्न हो ।’
त्यही कार्यक्रममा सभापति देउवाले भने अब आफु सभापति नबन्ने भन्दै हतार नगर्न आग्रह गरे । कांग्रेसको विधानअनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था रहेको भन्दै उनले विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न आग्रह गरे । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको स्पष्टीकरण दिए ।
शुक्रबार एउटै कार्यक्रममा महामन्त्री थापा र सभापति देउवाका बिचमा सवालजवाफकै शैलीमा आरोप प्रत्यारोप चलेको भएपनि यसअघि समेत यस्ता दृष्य देखिरहन्थे । पार्टीको बैठक आह्वान गरेर आन्तरिक विषयमा पार्टीभित्रै छलफल गर्नुपर्ने भएपनि बैठक बस्न नसकेका कारण सार्वजनिक कार्यक्रममै सवाल जवाफमा नेताहरु उत्रिएका हुन् ।
प्रतिक्रिया