Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : वयानमा कसले के भने ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको भएपनि मुद्दा दर्ता हुन अझै केहीदिन लाग्ने भएकाले मंगलबार म्याद थपिएको हो । यता वयान दिएका पूर्वमन्त्रीहरुले भने आफ्नो संलग्नता इन्कार गरेका छन् ।

पूर्वमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने विषय सोच्न पनि नसकिने भन्दै वयानमा भनेका छन्,‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु ।’

यता एमाले सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझीले समेत इन्कारी वयान दिएका छन् । उनले भनेका छन्,‘बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधान हुन् पर्दछ भन्ने मेरो धारणा रही आएको छ । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।’

यता नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले समेत आफू निजामती सेवामा इमानदार र नैतिकवान् कर्मचारीको रूपमा परिचित व्यक्ति भएको दाबी गर्दै आफ्नो सरल स्वभावको गलत प्रयोग गरी आफूले खुलाएका विषयमा संलग्नता भएको जस्तो देखिने गरी अन्य व्यक्तिहरूले गलत कार्य गरी फाइदा लिएको र बदनाम गर्न खोजेको आरोप समेत लगाएका छन् ।

तर यो प्रकरणमा पक्राउ परेका अन्य विचौलियाले भने पाण्डे, खाँण र रायमाझीलाई रकम दिएको उल्लेख गरेर वयान दिएका छन् । यस्तै सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत खाँण, रायमाझी यो प्रकरणमा जोडिएको स्पष्ट पार्दै आफ्नो संलग्नता भने अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ५० बजे