काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान करिब सकिएको छ ।
प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहितका आरोपीहरुलाई विभिन्न ६ वटा कसुरमा ३२ जना विरुद्ध मुद्दा लैजाने गरी रायसहितको प्रतिवेदन तयार पारेको बताइएको छ ।
पूर्वगृहमन्त्री खाण, रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सङ्गठित र ठगीबाहेक राष्ट्रहित विपरीतको कसुर, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन तयार गर्नसक्ने देखिएको छ ।
त्यसबाहेक अन्यलाई सङ्गठित ठगी र किर्तेमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन तयार भइसकेको प्रहरी स्रोतले जनाएको छ । आइतबार दिउँसोसम्म सम्पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
गत वर्षको चैत १२ गतेबाट अनुसन्धान शुरु गरेको र संगठित अपराधमा ६० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था भएकाले अहिले पक्राउ परेकाबाहेक अन्य १६जनाविरुद्ध पनि प्रहरीले मुद्दा चलाउने राय तयार गर्ने बताइएको छ ।
प्रतिक्रिया