काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आइतबार राती पक्राउ परे ।
पक्राउ पुर्जी जारी भएका बेला सभामुख देवराज घिमिरेसँगै रहेका रायमाझी आफै प्रहरीमा उपस्थित हुने जानकारी गराएको भएपनि प्रहरीको आँखा छलेर भागेका थिए । तर ११ औं दिनमा प्रहरीको फन्दामा परे । प्रहरीले रायमाझी खोज्न भारततिर ध्यान दिएको भएपनि उनी भने काठमाडौंबाटै पक्राउ परेका हुन् ।
आइतबार पक्राउ परेका रायमाझीलाई सोमबार अदालतमा पेश गरेर थप ३ दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ । र उनीसँग वयान लिने काम समेत शुरु भएको छ । म्याद थपका लागि अदालत जाँदै गरेका रायमाझीको हाउभाउ भने अचम्मको देखियो । संगठित अपराधमा पक्राउ परेका रायमाझीको अदालतमा रवाफ भने विजयी भावको देखियो ।
यति ठुलो र गम्भिर आरोप लागेर ११ दिनसम्म भागेका रायमाझी अदालतमा आफै उपस्थित भएका थिएनन् । उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको थियो । तर उनी भने खुसी मुद्रामा देखिएका थिए । यता उही प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको अनुहार भने मलिन देखिन्थ्यो । शुरुका दिनदेखि नै खाँणले मास्क लगाएर अदालतमा आउने गरेका छन् । तर रायमाझीले भने न मास्क लगाएका छन् । न उनी निराश देखिन्छन् ।
यसको कारणका रुपमा भने रायमाझीले पाएको राजनीतिक आड रहेको देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वर्य रायमाझीको विषयलाई लिएर ३ पटकसम्म प्रधानमन्त्रीसँग भेटवार्ता गरे । सार्वजनिक कार्यक्रममा समेत रायमाझीलाई पक्राउ गर्न खोजेर राजनीतिक प्रतिसोध साँच्न खोजेको आरोप ओलीले लगाएका थिए । अर्को हिसाबले भन्ने हो भने रायमाझीले अध्यक्ष ओलीमात्रै होइन, पार्टीकै आड पाइरहेका छन् ।
यसको ठीक विपरित कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र भएका बालकृष्ण खाँणका बारेमा न कांग्रेस सभापति देउवाले देखिने गरी चासो दिएका छन् । न खाँणको परिवारले नै उनलाई साथ दिएको छ । उनकी श्रीमती मञ्जु खाँण त बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहिन भएकी छन् ।
प्रतिक्रिया