काठमाडौँ । सुडानमा अलपत्र नेपाली रहेकामध्ये १९ जनाको उद्धार गरिएको छ ।
परराष्टर मन्त्रालयका अनुसार सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा आइपुगेका थिए । इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ ।
जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा युएईमा काम गर्ने भएको र १३ जनामध्ये ८ जना आजै एअर अरेबियाको उडानबाट काठमाडौँ आइपुग्ने मन्त्रालयले जनाएको छ । बाँकी ५ जना बिहिबार जजिरा एअरवेजको उडानबाट नेपाल आउने मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ भने ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया