काठमाडौं । देशका तिनवटा निर्वाचन क्षेत्रमा आइतबार मतदान सम्पन्न भएको छ । चितवन, बारा र तनहुँमा छिटफुट घटनाबाहेक शातिन्पुर्ण रुपमा चुनाव सकिएको छ । र मतगणनाको काम शुरु हुने क्रममा छ ।
चितवनमा रवि लामिछानेको कमजोरीका कारण सांसद पद खारेज भएर चुनाव भएको हो भने बाराबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति अनि तनहुँबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि उपनिर्वाचन हुने अबस्था बनेको हो ।
यो उपचुनाव गत मंसीरमा सम्पन्न चुनावभन्दा बढि रोचक अनि महत्वको देखियो कि दलका शिर्ष नेताहरु समेत निर्वाचन क्षेत्र पुगेर मत माग्नुपर्ने अबस्था बन्यो । तिनवटै निर्वाचन क्षेत्रमा नेकपा माओवादीका तर्फबाट आफ्नै उम्मेदवार नभएपनि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफै मत माग्न पुगे ।
कांग्रेसका अधिकांश शिर्ष नेताहरु चुनावी सभामा दौडधुप गरे । महामन्त्री गगन थापादेखि अर्का महामन्त्री विश्वप्रकाश शर्मा समेत चुनावी कमाण्डरका रुपमा जिल्लामा खटिए । गत मंसीरमा सम्पन्न भएको चुनावमा आफ्नै निर्वाचन क्षेत्रबाहेक अन्यत्र नगएका महामन्त्रीहरुले यसपालि चुनावी कमाण्डर बनेर मत माग्न पुगे ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने भएभरका सबै सांसद र नेताहरुलाई साथमै लिएर चितवनदेखि तनहुँमा सभा गरे । अधिकांश सभामा लामिछाने आफै सहभागी भए । र उनले आफुमाथि घेराबन्दी भएको भन्दै चितवनले रोपेको विरुवालाई मलजल गर्न आग्रह समेत गरे ।
यता जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म आफ्नो क्षेत्रमै लगेर मत माग्न लगाए । तर उनलाई जसरी पनि रोक्न जनमत पार्टीका अध्यक्ष सीके राउत चुनावी क्षेत्र केन्द्रित भए ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारामा भएको चुनावी सभामा पुगेर एमालेका पक्षमा मतदान गर्न आग्रह गरे । विरामी भएकाले सबै निर्वाचन क्षेत्रमा जान नसकेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका अध्यक्ष ओली बारामा भने चुनावी सभामै सहभागी भए ।
यसरी सबै दलका शिर्ष नेताहरु चुनावी सभामा सहभागी भएर मत माग्नुपर्ने अबस्थाले दलहरु यो उपचुनावलाई कति महत्व दिएका छन् भन्ने समेत देखाउँछ । उपचुनावले सत्ता गठबन्धनमा ठुलो उलटपुलट नआउने दाबी गरिएको भएपनि बाराको चुनावी परिणामले भने गठबन्धनमा केही फेरबदल आउनसक्ने आँकलन भने शुरु भएको छ ।
प्रतिक्रिया