Logo

मुख्य समाचार

उपचुनाव हुन लागेका स्थानमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । उपचुनाव हुन लागेको बारा–२, चितवन–२ र तनहुँ–१ मा स्वच्छ, निष्पक्ष, विश्वसनीय, भयरहित र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत रहेको गृहमन्त्रालय जनाएको छ ।

प्रवक्ता जितेन्द्र बस्नेतले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने तीनवटै उपनिर्वाचन क्षेत्रमा सम्पूर्ण शान्ति सुरक्षा व्यवस्था मिलाएको बताए ।

बस्नेतका अनुसार मतदान केन्द्रको सुरक्षामा तीन घेरा छन् । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी छन् भने तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा टिम हुनेछ । उसले मतदान कन्द्रको नजिक रहेर निगरानी गर्ने पनि उनले बताए ।

बारा–२ का लागि सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ । निर्वाचन आयोगका अनुसार बारा–२ मा १ लाख ५ हजार ११ मतदाता छन् भने ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् भने ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् । त्यस्तै, तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ  र तनहुँमा सबैभन्दा थोरै राजनीतिक दलका ९ उम्मेदवार छन्  ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ३८ बजे