काठमाडौं । गठन भएको १ सय ५ औं दिनमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत पाउन सकेनन् । शनिबारको प्रदेशसभा बैठकमा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो ।
जसका कारण अधिकारी नेतृत्वको सरकार ढलेको छ । नयाँ सरकार गठन नहुँदासम्म उनले कामचलाउ मुख्यमन्त्रीका रुपमा काम गर्नेछन् । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।
तर सरकार गठन कहिले भन्ने विषयमा दलका नेताहरु स्पष्ट देखिएका छैनन् । प्रदेशसभाको बैठकपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले समेत गण्डकीमा संविधानको धारा १६८ (२) अनुसारकै सरकार बन्ने बताएका छन् ।
प्रतिक्रिया