Logo

Breaking News 1

सरकारले वार्तामा नबोलाएसम्म सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन शाह



काठमाडौं । दुई दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले मंगलबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएर राखेता पनि सिंहदरबारबाट बाहिर भने निकालेका छैनौं।’ काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले आफूले फोहोर उठाइसकेको कुरा सुनेको तर यकिन कुरा के हो भन्नेबारे थाहा नभएको बताए।

मैले बुझ्न खोज्दा उठिसक्यो भन्यो, उनले भने, सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने मात्र थाहा पाएँ। थप कुरा मलाई थाहा छैन। सचिवालयबाट कुनै पनि जानकारी आएको छैन।

यस्तै महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए। जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं, उनले भने। यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा पनि आइतबारदेखि नै फोहोर उठेको छैन।

सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ। सरकारसँग कुरा नमिलेसम्म फोहोर कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले बताएका छन्।

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।

 

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : ३७ बजे