Logo

Breaking News 1

अडियो प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी नैतिक संकटमा



काठमाडौं । परम्परागत राजनीतिक दलबाट नेपालको विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै पत्रकारिता छाडेर राजनीतितिर लागेका रवि लामिछानेले छोटो समयमै राजनीतिक सफलता प्राप्त गर्न सकेका छन् ।

पार्टी स्थापनाको छोटो समयमै २० जना सांसदसहित संसद प्रवेश गरेका रवि लामिछानेमाथि संकट भने एकपछि अर्को आइरहेको छ । आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड वार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।

चुनावी प्रचारका लागि बारा पुगेका सभापति रवि लामिछानेले श्रेष्ठ दोषी देखिए ७२ घण्टाभित्र पार्टीले कारबाही गर्ने र थप कारबाहीका लागि प्रहरी र अख्तियारमा आफै उजुरी दिने बताएका छन् । सुशासनका पक्षमा आफ्नो दलको समेत बताउँदै आएका लामिछानेमाथि अडियो प्रकरणले संकट भने आइलागेको छ ।

यसअघि लामिछाने आफै नागरिकता प्रकरण दोषी ठहर भएर सांसद पद गुमाइसकेका छन् । अर्कातर्फ म्यानपावर व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएका लामिछानेको आलोचना त्यसैबेलामा समेत भएको थियो । तर जनमतसहित संसद प्रवेश गरेका लामिछानेका समर्थकले भने निरन्तर साथ दिइरहेकै छन् ।

अहिलेसम्म समर्थकको माया पाइरहेका लामिछानेलाई अडियो प्रकरणले भने समस्या आउनसक्ने देखिएको छ । दोहोरो राहदानी प्रयोग गरेका विषयमा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट बिचाराधिन छ । बैशाख १० गते हुने उपचुनावमा चितवनबाट उम्मेदवारी दिएका लामिछानेलाई अडियो प्रकरणले अलमलमा पर्ने समेत देखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ४४ बजे