रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा रहेको छ । थबाङ गाउँपालिका वडा नम्बर–१ को झकेबाङ्मा बनेको पालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएसँगै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्न लागेको हो ।नयाँ बर्ष २०७८० बैशाख ३ गतेदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारीमा थबाङ गाउँपालिका रहेको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरले जानकारी दिएका छन् । घर्ती मगरका अनुसार आफूहरू २०७९ चैत मसान्त देखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा भएता पनि कार्यालय सार्ने र व्यवस्थापनको काम नसकिएकाले नयाँ बर्ष २०८० बैशाख ३ गते शुक्रबारका दिनबाट आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा रहेका छन् । साथै थबाङ गाउँपालिकाले २०७४ देखि २ वटा घर भाँडामा लिएर आम नागरिकलाई सेवा दिदैँ आइरहेको छ, भने घर धनीलाई पनि मासिक घरको भाँडा समेत तिर्दै आएको र अबको केही दिन देखि आफ्नै प्रशासनिक भवनबाट सेवा विस्तार गर्ने तयारीमा थबाङ गाउँपालिका जुटिरहेको उनले बताए ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएपश्चात अहिले आफूहरू २०७९ चैत मसान्तसम्म भाँडामा लिएका २ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्ने तयारीमा रहेको र गरिसक्ने बताए । ‘अब हाम्रो सेवा पुरानो ठाउँबाट नभएर आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान हुनेछ । प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने, ‘थबाङ गाउँपालिकाका आम नागरिकहरु सेवा लिन पहिलेको ठाउँबाट नभएर नयाँ ठाउँबाट दिने छौँ र हामी त्यसको तयारीमा लागेका छौँ ।’ थबाङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य २०७७ मङ्सिर देखि सुरुभइ २०७९ माघ महिनामा सम्पन्न भएको थबाङ गाउँपालिकाका इन्जिनियर चन्द्र प्रकाश वलीले जानकारी दिए । वलीका अनुसार भवन निर्माण कार्यको लागि पहिले हामीले टेण्डर आव्हान गरेका थियौं भने करिब ६ करोड ७२ लाख बराबराबरको टेण्डर थबाङ गाउँपालिकाले गरेको थियो । तर निर्माण व्यावसायीले घटेर करिब ४ करोड ५२ लाखमा ठेक्का सम्झौता गरी काम अगाडि बढाएका थिए । साथै निर्माण व्यावसायीले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्म सक्ने लक्ष्य लिएता पनि करिब ६ महिना अगाडिनै माघ महिनामा काम सम्पन्न गरेको समेत उनले बताए ।
थबाङ गाउँपालिकाको प्रशासनिक भवन ३ फलाइटको रहेको छ । जसमा १ फलाइटमा १२ वटा कोठा रहेका छन् । जम्मा ३६ वटा कोठाहरु रहेको पालिका इन्जिनियर वलीको भनाइ रहेको छ । त्यस्तै प्रत्येक ३ फलाइटमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय रहेको छ भने करिब ३० देखि ३५ जना जति अटाउने हल समेत रहेको बताइएको छ ।करिब ३ बर्षमा प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको बताउदै निर्माण व्यावसायीले निरन्तर आफ्नो काम अगाडि बढाएको र कोरोना महामारीको समयमा पनि केही सामान खरिद, ढुवानी लगायतमा भनेको बेला माल सामान नआएपनी कामलाई अगाडि बढाएर अहिले सम्झौता गरेको अन्तिम समयमा सक्नुपर्ने काम ६ महिना अगावै सम्पन्न गरेको र निर्माण व्यावसायीको आर्थिक कार्यको भुक्तानी दिने काम समेत थबाङ गाउँपालिकाले दिइसकेको उनले बताए । थबाङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने भएपछी पहिले देखि घरको भाँडा तिर्दै आएको समस्या केही हदसम्म हट्नेमा आफू विश्वस्त भएको थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगरले बताए । ‘हामीले प्रत्येक महिना घर भाँडा मात्र १ लाख बराबर तिर्दै आएका छौँ अब त्यो समस्या बिस्तारै हट्दै छ तर वडाको समस्या भने उस्तै छ ।’ अध्यक्ष बुढाले भने । साथै थबाङ गाउँपालिका भित्र ५ वटा वडा कार्यालयहरु रहेको बताउँदै सबै वडा कार्यालयहरु भाँडाका भवनबाट अगाडि बढिरहेको र १ वडा कार्यालयको सेवा व्यक्ति घरबाट प्रदान भइरहेको, २ वटा वडा कार्यालयको सेवा पहिलेको गाविस भवनबाट प्रदान भइरहेको र २ वटा वडा कार्यालयको सेवा पनि सामुदायिक भवन मार्फत प्रदान भइरहेको समेत बताए । केही समयपछी मात्र थबाङ गाउँपालिकाको सबै वडा कार्यालय भवनको निर्माण कार्य अगाडि बढ्ने र आफ्नै वडा कार्यालय निर्माण भएपछि गाउँपालिका तथा वडा कार्यालय थबाङ गाउँपालिकाको हुने समेत उनले बताए । हरेक बर्ष घरको भाँडा मात्र करिब १२ लाख भन्दा माथि तिर्दै आएको र अब त्यो समस्या हटेपछि उक्त रकमले केही विकास हुने उनको भनाई रहेको छ ।
थबाङ गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भइ सेवा प्रदान गर्न लागेकोले आम नागरिकहरु खुशी भएको पालिका अध्यक्ष बुढाले बताए । ‘प्रशासनिक भवन निर्माण गर्नमा निवर्तमान जनप्रतिनिधिहरुको महत्त्वपूर्ण योगदान रहेको छ, उहाँहरुलाई धन्यवाद दिन्छु ।’ उनले भने, ‘मैले सुन्नमा आएको छ, केही व्यक्तिले गाउँपालिकाको प्रशासनिक भवन बनाउनमा आफ्नो नि:शुल्क जग्गा दान गर्नु भएको रहेछ । अहिले उहाँहरुको सहयोगले गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बनेको मेरो तर्फबाट र पालिकाको तर्फबाट उहाँहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दछु । अझै गाउँपालिकाको प्रशासनिक भवनको करिब १ करोड बराबरको काम छ जसमा घेरबार र खानेपानी लगायत रहेका छन त्यो पनि आर्थिक बर्ष २०८०/०८१ मा पुरा हुन्छ । थबाङ गाउँपालिका २०७४ देखि व्यक्तिको २ वटा घर भाँडामा लिएर आफ्नो सेवा प्रदान गर्दै आएको थियो । २०७४ साल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा थबाङ गाउँपालिकाको अध्यक्षमा वीर बहादुर घर्ती मगर निर्वाचित भएका थिए । निवर्तमान थबाङ गाउँपालिकाका अध्यक्ष घर्ती मगरको कार्यकालमै प्रशासनिक भवन निर्माणको जग्गा व्यवस्था, टेण्डर आह्वान र ठेक्का सम्झौता गरेर निर्माण कार्य अगाडि बढेको थियो ।
रोल्पा जिल्लाका १० वटा स्थानीय तह मध्ये आफ्नै प्रशासनिक भवन निर्माण गरेर सेवा प्रदान गर्नेमा परिवर्तन गाउँपालिका रहेको छ भने दोस्रो सुनछहरी गाउँपालिका रहेको र तेस्रो थबाङ गाउँपालिका रहेको छ । अन्य केही पालिकाले प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुर्याएका छन भने केही पालिकाले सुरु गरिरहेका छन र केही पालिकाले सुरुवात गर्ने तयारीमा समेत रहेका छन ।
प्रतिक्रिया