Logo

समाचार

वातावरण र दिगोपना विषयक विश्व सम्मेलन नेपालमा हुँदै



काठमाडौँ । आउँदो वर्ष नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना गर्न लागिएको छ । नेपाल सरकारसंगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन आयोजना गर्न लागेको हो । विश्व सम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विभागका प्रमुख प्रा.डा. छत्र मणि शर्माले विकासशील मुलुकहरुले व्यहोरीरहेका वातावरणीय चुनौतीहरुबारे छलफल गर्न आउँदो वर्ष जुन ९–११, २०२४ (२७–२९ जेठ २०८१ विसं) मा काठमाडौँमा उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

विभागका पूर्व प्रमुख तथा सम्मेलनका कोअर्डीनेटर प्रा.डा. केदार रिजालले २० भन्दा बढी मुलुकका ३०० प्राज्ञ तथा वैज्ञानिकहरु सहित झन्डै ५०० जना विद्वत् व्यक्तित्वहरू उक्त सम्मेलनमा सहभागी हुने आफुहरुले अपेक्षा गरेको बताए । उक्त सम्मेलनबाट प्राप्त निष्कर्षहरु नीतिगत सुझाव सहित नेपाल सरकारलाई बुझाइने पनि उनले जनाए । संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनि भर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका सहअध्यक्ष डा मोहन डाँगीले सम्मेलनमा खासगरी वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन तथा दिगो विकाससंग सम्बन्धित विषयहरुमा विस्तृत छलफल गरिने बताए । नेपालका वातावरणीय चुनौती तथा ती चुनौती व्यहोर्न नेपालले गरिरहेका प्रयासहरुबारे विश्व समुदायलाई जानकारी दिन सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘हाम्रो मुख्य उद्देश्य विज्ञानलाई आम जनसमुदायसंग जोड्ने नै हो । यसका लागि मिडिया लगायत सबै क्षेत्रबाट हामीले सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने ।

प्रतिनिधि सभा सदस्य संजय कुमार गौतमले जलवायु परिवर्तन तथा वातवरणीय मुद्दाहरुलाई राजनीतिक छलफलको अग्रस्थानमा ल्याउन आवश्यक भै सकेको बताए । उनले चुरे क्षेत्रको विनाशले नेपाल मात्रै नभै भारतलाई पनि असर पर्ने भएकाले वातावरण संरक्षणको मुद्दामा छिमेकीहरुसंग पनि सहकार्य गर्नु पर्ने बताए । उक्त अवसरमा त्रिविका पूर्व उपकुलपति प्रा तीर्थराज खनिया, शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाल, सम्मेलन आयोजक समितिकी सहअध्यक्ष प्रा डा रेजिना मास्के, प्रा राम प्रसाद चौधरी, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसका प्राध्यापक डा मार्क मस्केल लगायतका वक्ताले जलवायु परिवर्तन लगायतका वातावरणीय मुद्दाले अल्पविकसित तथा विकासशील मुलुकहरुलाई सबै भन्दा बढी असर पारिरहेको बेला यस्तो विश्व सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको बताउंदै सम्मेलनको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ८ : ४५ बजे