Logo

विश्व

रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष



काठमाडौं । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौका पाएको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र छन् । उनीहरुले एक–एक महिना पालैपालो अध्यक्षता गर्न पाउँछन् । रुसले गत वर्ष फेब्रुअरीमा पनि अध्यक्षता गर्ने मौका पाएको थियो । अहिले फेरि १ अप्रिलदेखि रुसले अध्यक्षता सम्हालेको छ ।

रुसले युक्रेन युद्धमा आफूलाई फाइदा हुने गरी र आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा ज्यादा मजबुत ढंगले प्रस्तुत गर्ने गरी अध्यक्ष पदलाई उपयोग गर्छ कि भन्ने आशंका अन्तर्राष्ट्रियस्तरमा रहेको बीबीसीले जनाएको छ ।

सयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वेसिली नेभेन्जियाले रुसको सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै सुरक्षा परिषदको अध्यक्षता ग्रहण पछि रुसले धेरै मुद्दाहरुमा बहस गराउने योजना बनाएको बताएका छन् । त्यो योजनामा हतियार नियन्त्रणका विषय पनि छन् । उनले नयाँ विश्व व्यवस्थाबारे पनि बहस गरिने बताएका छन् जसले हालको एक ध्रुवीय व्यवस्थामा परिवर्तन ल्याउने विश्वास छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ५३ बजे