Logo

गण्डकी प्रदेश

दुई सय २० केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने



लमजुङ । मर्स्यायाङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ ।

भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने बताइएको छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ ।

प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधिन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

 

 

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ५२ बजे