Logo

समाचार

तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनालको उम्मेदवारी चर्चा



काठमाडौं । नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनाल तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उपनिर्वाचन लड्ने संकेत देखिएको छ । उनि निकट स्रोतका अनुसार, सर्वेन्द्र आफ्नै गृह जिल्लामा चुनाव लडेर विकास निर्माणमा योगदान दिन चाहेका छन् । तर,उनि कुन पार्टीबाट उम्मेदवार हुने भने कुनै टुँगो लागेको छैन । मंसिर ४ को चुनावमा भने उनी काठमाडौं क्षेत्र नं ६ मा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । यसपाली उनले गृहजिल्लाबाटै चुनाव लड्दा उपयुक्त देखेर एमालेसंग घनिभुत छलफल शुरु गरेका छन् ।

एमालेले पनि यो बिषयमा निर्णय गरेर पार्टी नेतृत्व समक्ष पुर्याउने तयारी गरेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएपछि खाली भएको तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनाललाई चुनाव जित्न सहज हुने चर्चा स्थानीय तहमा चलेको छ । गठबन्धनभित्र एकमत नहुँदा र गृह जिल्लामा जिम्मेवारी व्यक्ति उठ्दा मतदातामा छुट्टै तरंग आउने र यसले सर्वेन्द्रलाई चुनाव जित्न सहज हुने देखिएको छ । अर्कोतिर, खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवारी हुने पनि चर्चा चलेको छ । यो बिषयमा खनाल स्रोतले रास्वपा सभापति रवि लामिछानेसंग संवाद पनि गरिसकेको छ । तर, स्वंय खनाल भने एमालेको निर्णय पर्खिरहेका छन् । उनि यसपालि तनहुँबाट चुनाव जित्नेमा बिश्वास व्यक्त गर्छन् ।
सर्वेन्द्र २०७४ साल चैत २७ गते प्रहरी प्रमुख (आइजीपी) बनेका थिए । खनाल २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका थिए । तत्काली सरकारले नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो । मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो । खनालको नेतृत्वमा मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर भएको थियो । खनाल महानगरीय अपराध महाशाखामा आएपछि घैंटेको इन्काउन्टर भएको थियो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई ।

खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै म्याच फिसिक्स प्रकरणमा खेलाडीलाई पक्राउ समेत उनैले गरेका थिए । त्यतिबेला तत्कालिन फुटबल कप्तान सागर थापासहितका खेलाडीलाई उनकै अग्रसरतामा पक्राउ गरेर कारबाही गरिएको थियो । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो थियो । महाभुकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनाल जालोमा परे थिए ।

लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए थिए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे थिए । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो ।

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए थिए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे थिए । विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे थिए । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए ।

खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए । पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए ।

सडकका खाल्डाखुल्टी पुर्ने अभियान,चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका थिए । नेपालमा ‘हर्न निषेध कार्यक्रम’ लागु गरेर जरिवानाको शुरुवात खनाले नै गरेका थिए ।

उनको यो कुशलता देखेर ०७९ सालको मंसिर ४ को संसदीय चुनावमा एमालेले खनाललाई उम्मेदवारी बनाएको थियो । तर, यसपालीको उपचुनावमा उनी एमालेबाट वा अन्य कुन पार्टीबाट चुनावमा उठ्ने हुन्, निश्चित भएको छैन । हुन , उनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि चुनाव लड्ने हुन् कि भन्ने चर्चा पनि चल्न थालेको छ । एमालेले भने खनाललाई नै तनहुँमा उम्मेदवारी बनाउन उपयुक्त हुने छलफल चलाएको छ । यहि बैशाख १० गते चितवन क्षेत्र नं २, बारा २ र तनहुँ क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ५३ बजे