Logo

प्रदेश

माओवादी लुम्बिनी संसदीय दलको बैठक बस्दै



बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठक बस्दै छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सरकार फेरबदलको चर्चा भइरहेका बेला माओवादी केन्द्र लुम्बिनी दलको बैठक बस्न लागेको हो ।

दिउँसो १२ बजे भैरहवामा बैठक बस्ने प्रदेश सरकारमा माओवादी केन्द्रबाट मन्त्री रहेका इन्द्रजित थारुले जानकारी दिए । बैठकमा प्रदेश सरकारबाट बाहिरिनेबारे छलफल हुने भए पनि आजै निर्णय नहुने उनको भनाइ छ ।

‘नयाँ गठबन्धनअनुसार केन्द्रबाट सातवटै प्रदेशको मुख्यमन्त्रीबारे निर्णय नहुँदासम्म लुम्बिनीमा सरकार फेर्ने प्रक्रिया सुरु हुँदैन’, उनले भने, ‘प्रक्रिया सुरु नहुँदासम्म हामी सरकारबाट निस्कदैनौं । आजको छलफलबाट पनि निर्णय त्यही नै हुन्छ ।’

यता कांग्रेसलगायत गठबन्धनका अन्य दल भने माओवादी केन्द्रको निर्णय कुरेका छन् ।

राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने भएपछि फागुन दोस्रो साता नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो । एमालेसँगको सहकार्य टुटेपछि माओवादी केन्द्र, कांग्रेस र अन्य साना दलहरुसहितको नयाँ गठबन्धन बन्यो ।

आफू नेतृत्वको सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पुन: विश्वासको मत पनि लिइसकेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । माओवादी केन्द्रलगायत अन्य दल भने अझै सरकारमै छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १० : ५५ बजे