Logo

समाचार

हिउँमा फसेका २ जनाको उद्धार



गोरखा । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ जना नेपालीको उद्धार गरिएको छ । दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।

बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले बिहीबार (९चैत) बिहान उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ ।

‘उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा ल्याएर राखिएको छ । प्रमुख जिल्ला अधिकारीज्यूसँग समन्वय गरी काठमाडौंबाट हेलिकोप्टर मगाइएको सूचना पाएका छौं ।’ लामिछानेले भने ।

उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको डिएसपी लामिछानेले बताए ।

बुधबार बिहान उनीहरू सामागाउँको लार्केगाउँबाट त्यसतर्फ लागेका थिए । उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार भएको उनले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ५६ बजे