Logo

खेलकुद

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग खेल्दै



काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि यू–१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ । आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ ।

च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालको लक्ष्य उपाधि

मुख्य प्रशिक्षक भगवती रानाले नेपालको तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् । ‘हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ । सबै म्याच जितेर अंक तालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ भगवतीले भनिन्, ‘हामी डिफेन्डिङ च्याम्पियन भएकोले पनि झन् धेरै चुनौती छ । त्यसैले पनि हरेक खेल जित्नुपर्ने हुन्छ ।’

च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

यसअघि नोभेम्बरमा भएको साफ यू–१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो ।

नोभेम्बरमा साफ यू–१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

नेपाली टोली
गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : १२ बजे