काठमाडौं । सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ । आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको सप्तरी अदालतले जनाएको छ ।
तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औं पटकको पेशीमा फैसला भएको हो । आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए । पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए ।
आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
प्रतिक्रिया