Logo

समाचार

स्युवियु निर्वाचन: पाँचथरका सबै क्याम्पसमा निर्बिरोध निर्वाचित



पाँचथर । पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतहरुका अनुसार जिल्लाका चारमध्ये सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व पाएका छन् ।

सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वत: निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराए पछि निर्बिरोध निर्वाचित भएका हुन ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ०५ बजे