काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । शनिबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरि आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।
आगामी ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार चारजनाको उमेदवारी दर्ता भएको छ । उमेदवारविरुद्ध हिजै उजुरी दिने निर्वाचन कार्यतालिका थियो ।
उपराष्ट्रपति पदका उमेदवार जसपाका रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पार्टीले उजुरी दिएका छन् ।
राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको एमाले र जनमत पार्टीको जिकिर छ ।
यादवसँगै जसपाबाट प्रमिला यादवको पनि उमेदवारी परेको छ। रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।
सत्तारुढ गठबन्धनबाट एकजनाको नाममा सहमति नजुटेपछि तीनजनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गरेकाहरुले आजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने कार्यसूची छ ।
यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया