Logo

मुख्य समाचार

रामचन्द्रलाई गगनको सुझाव : राजा जस्तो नबन्नू, जनतालाई सास्ती नदिनू


२६ फाल्गुन २०७९, शुक्रबार  

276
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन्। उनले शुक्रबार पौडेललाई बधाई तथा शुभकामना दिँदै राजा जस्तो राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका हुन्।

नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक राष्ट्राध्यक्षको चाहना हो,’ थापाले भनेका छन्, ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।’

राष्ट्रपतिको सम्मान, गरिमा र प्रतिष्ठा परम्परागत मान, अलंकार र सुरक्षा कवचमा नभएर संविधानसम्मत भूमिका, पारदर्शी कार्यसम्पादन, सरल जीवन शैली र नागरिक संस्कारमा अन्तर्निहीत हुने उनको भनाइ छ।

विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने परम्परा र अभ्यासले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको भन्दै उनले तामझामपूर्ण शैलीको अन्त्य गर्न पनि आग्रह गरेका छन्।

‘तपाईंले यस्तो गर्दिन भन्नुभएको छ, सकारात्मक छ। त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक–भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ,’ थापाले भनेका छन्, ‘ताकि आम नागरिकले राष्ट्रपति हिँडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आमनागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्, देख्न सकुन्।’

उनले नवनिर्वाचित राष्ट्रपति पौडेललाई अब कांग्रेसले बोक्ने राजनीतिक विचारसँग मन, वचन र कर्मले अलग हुनुपर्ने पनि उल्लेख गरेका छन्।

‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो,’ महामन्त्री थापाले भनेका छन्, ‘तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनु हुँदैन।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ०९ बजे