मुगु । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिरिङ्ग कामी आफू र आफ्नो परिवारको जीविकोपार्जनका लागि पसिना बगाइरहेका छन् ।
उनीजस्तै मुगुका दलित लुहारहरुको परम्परागत आरन व्यवसाय जीविकोपार्जनको लागि मुख्य आयस्रोत बनेको छ । आरन पेसा लोप भइरहेको बेला मुगुमा भने उनीहरूको बिहान बेलुका हातमुख जोड्ने र भइपरी आउने आर्थिक अभाव झेल्ने सहारा बनेको छ । तर, आरन चलाउँदा बगेका पसिनाको मूल्य भने नपाएको उनीहरुको गुनासो छ ।
मुगुका गरिब, दुःखी र फरक क्षमता भएकाको सहारा आरन पेसा बनेको छ । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरुको भनाइ छ । मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का पेमा छिरिङ्ग कामी आरन पेसाबाटै आफ्नो घर परिवारको खर्च जोहो गर्दै आइरहेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, पछिल्लो समय सहरका रेडिमेन्ट औजारका कारण स्थानीय आरन व्यावसाय धरासय बन्दै आएको स्थानीयले गुनासो गरेका छन् । अर्कोतिर कामअनुसारको ज्याला पाउन नसकेको पनि उनीहरुले दुखेसो पोखे ।
एक घण्टा मिहेनत गरेर औजार बनाएर दिँदा १ माना चामल ज्याला पाउने गरेको उनीहरु बताउँछन् । उचित ज्याला पाउन नसकेका आरन व्यवसायीहरुमाथि राज्यले पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
स्थानीय सरकार बनेपछि दुःखका दिन हट्ला भन्ने आशा गरेका मुगुका दलितहरुको समस्या समाधान अझै हुन सकेको छैन । स्थानीय सरकारले उचित ज्याला र सहज बजारको व्यवस्था गरिदिए आरन पेसाकै संरक्षण र आफूहरुको जीविकोपार्जनमा पनि सहज हुने उनीहरुको बताउँछन् ।
प्रतिक्रिया