Logo

मुख्य समाचार

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी नेताहरूबीच भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार  

0
Shares

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसालसहित नेताहरू बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका थिए । भेटमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित नेताहरू सहभागी थिए । भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।

लोकतन्त्र र संविधान रक्षाको विषय महत्वपूर्ण भएर आयो । यो राष्ट्रपति निर्वाचनलाई पनि लोकतन्त्र र संविधान रक्षाको विषय बनाउनुपर्छ भन्नेमा हामी छौं । कांग्रेससँगको छलफलमा व्यक्तिको बारेमा अहिलेसम्म कुरा भएको छैन । भोलि फेरि छलफल गर्ने सहमति छ, नेकपा एसका नेता घनश्याम भुसालले भने ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिइरहेका बेला कांग्रेससहित पूरानो पाँच दलीय गठबन्धनमा रहेका दलहरू त्यही गठबन्धन ब्युँताउने प्रयत्नमा छन् । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमतिको वातावरण बनाउने, नभए संसद्मा रहेका सबै दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

सोमबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई पार्टी एकता गर्ने सर्तसहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यसयता नेपालसँग कांग्रेस नेताहरूले महत्वका साथ संवाद गरिरहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ४८ बजे