Logo

मुख्य समाचार

उमेर विवाद :डीआईजी अशोक सिंहले दिए राजीनामा


१० फाल्गुन २०७९, बुधबार  

138
Shares

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहन्थे । उनका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा थिए । २०४९ चैतमा सेवा प्रवेश गरेका हालका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित उनका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाने छन् ।

त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहेका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो । उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको छ ।

उच्च स्रोतका अनुसार प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रभक्त श्रेष्ठले नागरिकता जारी गरेका हुन् । नागरिकताको उमेरअनुसार उनको जन्ममिति विसं २०२४ हुनुपर्ने हो । नागरिकतामा जन्म महिना र गते उल्लेख छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारी उमेरमा महिना र गते उल्लेख नभए नागरिकता जारी भएको मितिलाई नै महिना र गते मानिने बताउँछन् ।

प्रहरी नियमावली २०७१ मा ‘सेवामा प्रवेश गर्दा निजले पेस गरेको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा उमेर हिसाब हुने’ भनिएको छ । वर्ष वा संवत् मात्रै उल्लेख भएमा ‘नागरिकता र शैक्षिक प्रमाणपत्र जारी भएको मितिलाई जन्मको महिना र गते कायम हुने’ भनिएको छ । तर, सिंहको सिटरोलमा नागरिकताको भन्दा फरक जन्ममिति छ । सिटरोलमा सिंहले प्रमाणपत्र र स्नातक तहमा राखेको उमेर उल्लेख गरेका छन् । सिंहले भारतको एक शैक्षिक संस्थाबाट प्रमाणपत्र तह र स्नातक उत्तीर्ण गरेको कागजात पेस गरेको प्रहरी स्रोतले बतायो ।

नागरिकतामा भएको उमेरअनुसार सेवा अवधि कायम हुने हो भने सिंह २०७९ जेठ २२ मै एसएसपीको उमेर हदका कारण अनिवार्य अवकाशमा जाने थिए । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष हुने उल्लेख छ तर सिटरोलअनुसार उनी अवकाशमा गएनन् । २०५१ चैत ५ मा निरीक्षकमा भर्ना भएका उनी त्यसपछि विभिन्न मितिमा डीएसपी, एसपी र एसएसपीमा बढुवा भएका थिए । बढुवा गर्दा नागरिकता र सिटरोलको उमेर नभिडाई निर्णय भएको छ । पछिल्लो पटक असार १७ मा सिंहसहितका डेढ दर्जन एसएसपीहरू डीआईजीमा बढुवा भएका थिए ।

यसअघिको बढुवामा आफ्नो ब्याजबाट तेस्रो नम्बरमा रहेका उनी पहिलो नम्बरमा बढुवा भएर एआईजी बन्न ‘दौडधुप’ मा थिए । सिटरोल र नागरिकतामा फरक–फरक जन्ममिति भेटिएपछि भने उनी छानबिनको दायरामा तानिए। त्यति मात्र होइन, नागरिकतामा उल्लेख भएअनुसार जन्ममिति कायम हुने हो भने सिंह प्रहरी सेवा प्रवेशमै अयोग्य हुने देखिन्छ । प्रहरी निरीक्षकमा भर्ना हुन २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । सिंह २०५० मंसिरमा खुलेको आवेदनअनुसार प्रहरी सेवामा प्रवेश गरेका हुन् । नागरिकताको उमेर कायम गर्दा आवेदन मितिमा उनको उमेर २५ वर्ष नाघेको देखिन्छ । यो भनेको सेवा प्रवेश गर्न चाहिने अधिकतम उमेरभन्दा बढी हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : १३ बजे