Logo

खेलकुद

ठाकुरबाबालाई खो–खोको उपाधि



भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ ।

उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै रु एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले रु ५० हजारसहित तेस्रो स्थान हासिल गर्‍यो । सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गरे । विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गरे ।

सांसद सुवालले संविधानमा खेलकुदलाई मौलिक हकका रुपमा समावेश गर्नुपर्ने बताए । सो अवसरमा नगरप्रमुख प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो–खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिता आयोजना गरिएको बताए । बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यलगायतले खो–खो खेलको महत्वबारे चर्चा गरेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ११ बजे