खोटाङ । खोटाङमा जननायक रामप्रसाद राईको शालिक अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क उद्घाटनसँगै उनको शालिक अनावरण गरिएको हो । प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार रामप्रसाद राई स्मृतिपार्क उद्घाटन एवं शालिक अनावरण गरेका हुन् ।
२००७ सालका क्रान्ती नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ गाउँपालिका र प्रदेश सरकारको ६५ लाख खर्चमा उनको शालिक सहितको स्मृतिपार्क निर्माण गरिएको हो । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा शालिक, बगैंचा, घेराबारा, पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनाइएको छ ।
टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, २०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो । यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा प्राप्त २० लाख र आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको थियो ।
ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएको थियो । रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । २००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा गरिएको इतिहास छ । जवानबाट बढुवा हुँदै लेफ्टीनेन्ट बनेका राईले खोटाङ वजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरु गरेका थिए ।
प्रतिक्रिया