रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको आफ्नै खेलमैदानमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रम बीच शुक्रबार देखि सुरु भएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको त्वात्वधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिकाको पहिलो गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।
प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका १२ वटा सामुदायिक माध्यामिक विद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० हजार मिटर दौड, छात्र भलिबल, छात्रा भलिबल, हाइजम्प, त्रिपल जम्प, लङजम्प, सटफुट, ज्यापलिन थ्रो, रिलेदौड ४०० मिटर र १६०० मिटर तथा मार्सल आर्टका खेलहरु आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन)को प्रमुख आतिथ्यतामा भएको हो, भने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा, परिवर्तन गाउँपालिकाका कार्यपालिका सदस्य फर्मिला महर, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको आतिथ्यता रहेको थियो ।परिवर्तन गाउँपालिका पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन ५ र ६ गते दुई दिनसम्म जारी रहने आयोजकले जानकारी दिएको छ । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा एथलेटिक्स टिम कोच कृष्णराम डाँगीले विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाएकोमा विद्यार्थीहरु हर्षित भएको बताए ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले विद्यार्थीहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि भने जस्तो तयारी गर्न नसकेको बताए । छोटो समयमा विद्यार्थीहरुले भने जस्तो तयारी गर्न नसकेको उनको भनाइ रहेको छ । अन्य पालिकाहरुले यसअघि नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरु सम्पन्न गरि सकेको बताउँदै, जिल्ला स्तरमा पनि रोल्पा जिल्लाका दस स्थानीय तहहरुबाट पनि छनोट गरेर जिल्ला स्तरमा प्रतिस्पर्धा गराउनुपर्ने भएकोले समय कम भएको अध्यक्ष बुढाले बताए । साथै धेरै विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्ड नयाँ भएको हुन सक्ने बताउदै भने, ‘यो क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नखेलाएको लामो समय भएकोले कुनै बेला माडीचौरमा मात्र हुने गरेको थियो भने कुनै बेला लिबाङको बाल कल्याण नमूना मावि र एक पटक इरिबाङको बागमारामा भएको थियो ।’ कुनै बेला नेपालको संविधानको हिसाबले हेर्दा नेपालको संविधान विपरीत राष्ट्रपतिले कदम चाल्दा खेरी असंवैधानिक कदमको कारणले गर्दा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बहिष्कार गर्नुपर्छ, सहभागी हुनुहुँदैन भन्ने कुराले गर्दा स्थानीय तह दोस्रो निर्वाचन पछी मात्र आफ्नो पालिकामा सञ्चालन गर्न सफल भएको उनले बताए ।
परिवर्तन गाउँपालिकामा पहिलो पटक निर्वाचित भएर आएका जनप्रतिनिधिले समेत सञ्चालन गर्न नसकेको बताउदै उतिबेला अध्यक्ष कप आयोजना गरिएको बताए । अहिले पनि अध्यक्ष कप प्रतियोगितालाई निरन्तरता दिने गरि सोच बनाएको बताउँदै भने ‘हामीले जुनियर र सिनियर गरेर प्रतिस्पर्धा गराउने सोच गरेका छौँ ।’ साथै आफ्नो गाउँपालिका भित्र रहेका विद्यालयको पढाईको अवस्था नाजुक भएको बताउदै, पढाईलाई राम्रो गर्दै खेलकुदमा पनि राम्रो हुनु अहिले आवश्यकता भएकोले त्यस तर्फ सबैले ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ छ । त्यस्तै गाउँपालिकाले पढाईका लागि छात्रवृत्तिको व्यवस्था गरेपनि पढाई कम्जोर भएकोले कुनै पनि विद्यार्थीले नाम नटिपाएको समेत बताए । आफ्नो गाउँपालिका भित्र रहेका विद्यार्थीहरु विज्ञान र गणितमा कम्जोर भएको बताउँदै कसरी विद्यार्थीहरुको पढाईलाई सुधार गर्न सकिन्छ भन्ने अहिलेको ज्वलन्त दृष्टान्त भएको बताए । आगामी दिनमा आफ्नो गाउँपालिका भित्र पढाईलाई पनि असर नपर्ने गरेर र समयको पनि बचत हुने गरि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र गाउँपालिका अध्यक्ष कप एकै समयमा आयोजना गर्ने अध्यक्ष बुढाले बताए ।
सबै विद्यालयको तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रामखुङका शिक्षक इन्द्र कुमार पुनले विद्यार्थी किताबको ज्ञानमा मात्र सिमित नभएर विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न पाउने अवसर भएको समेत बताए । सबै वडा अध्यक्षको तर्फबाट परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराको वरिपरि रहेर समग्र नेपालको खेलकुद क्षेत्रको लागि आफूहरू अगाडी बढेको बताए । साथै राष्ट्रिय स्तरको खेलकुद भएको बताउदै, राष्ट्रिय खेलकुदको नाम दिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरि जुनियर खेलाडीहरुलाई प्रतिस्पर्धा गराउनु महत्त्वपूर्ण कार्यक्रम भएको समेत बताए । साथै आफूहरूले विद्यालयको क्षेत्रबाट आफ्ना बालबालिकालाई खेल खेलाउँदै त्यो सानो उमेरमै साच्चिकै विकास गर्नको लागि यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यालय स्तरको खेलकुदलाई व्यवस्थीत गर्दै आएको जिकिर गर्दै विगतको बर्षहरुमा आफ्नो पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना नगरेको सबैलाई सर्बविबतै रहेको समेत बताए । आगामी दिनहरुमा व्यवस्थित र राम्रो बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ रहेको छ । विगतका दिनमा अध्यक्ष कप आयोजना गर्दै आएकोमा अहिले एकातिर राष्ट्रपति रनिङ शिल्ड अर्को तर्फ अध्यक्ष कप हुने देखिएकोले आगामी दिनमा सँगै व्यवस्थित ढंगबाट अगाडी बढाउने समेत बताए ।
परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले परिवर्तन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलो पटक सञ्चालन भएको सबैलाई स्मरण गराउँदै राष्ट्रिय स्तरको खेलकुद आयोजना गरेर पालिकालाई खेलको माध्यमबाट चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय खेलाडी चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउदै राष्ट्रपति रनिङ शिल्ड बाट १८ बर्षमुनीका विद्यार्थीले आफूहरू भित्र रहेका कला, क्षमताको प्रर्दशन गरि जिल्ला, प्रदेश तथा केन्द्रसम्म पुग्न सकिने समेत बताए । साथै राष्ट्रिय खेलाडी भएर आफ्नो नाम, गाउँ, ठाउँ र राष्ट्रलाई चिनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउदै, पालिकाले राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गर्दै आएको बताए । आज उद्घाटनको दिनमा छात्र भलिबल, छात्रा भलिबल, आईटीएफ र कबड्डी प्रतियोगिताहरु सुरु भएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद समितिका सदस्य लोकचन्द्र डाँगीले गरेका थिए ।
प्रतिक्रिया