Logo

मुख्य समाचार

पाँच वर्षपहिले निर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी भोलि दाङ जादै


२ फाल्गुन २०७९, मंगलबार  

0
Shares

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दाङको तुलसीपुर जाने भएकी छिन्। पाँच वर्षपहिले बनेर तयार भएको नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ आउन लागेकी हुन्। जहाँ हाल आयुर्वेदमा स्नातक (बिएएमएस) को अध्ययन हुँदै आएको छ।

विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले मंगलबार पत्रकार सम्मेलनमा भवन पाँच वर्षअगाडि बने पनि विविध कारणले उद्घाटन गर्न नपाएको र अहिले आएर साइत जुरेको जानकारी दिए। यो भवन निर्माणका लागि २०७७ साल असार १७ गते सम्झौता भएको थियो।

टुन्नि मुन्ना एन्ड आचार्यले २४ करोड रूपैयाँ लागतमा भवन निर्माणको काम सकारेको थियो। काम पूरा हुँदा २४ करोड ७२ लाख ८३ हजार ४ सय ४५ रूपैयाँ लागेको थियो। सुरूमा ३६ महिनाभित्रै भवन बनाइसक्ने सम्झौता रहे पनि २०७४ साल असारमा भवन निर्माणको काम पूरा भएको थियो।

निर्माण कम्पनीले मंसिरमा मात्रै भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो। हस्तान्तरण गरेको एक वर्षसम्म त्यसको परीक्षण काल थियो। २०७५ सालमा परीक्षण काल सकिएको उनले बताए। त्यसपछि कोरोना महामारी फैलिएको हुँदा समयमै उद्घाटन गर्न नसकेको उनको भनाइ थियो। महामारीको बेलामा लुम्बिनी प्रदेश सरकारले प्रदेश कोरोना विशेष अस्पतालका रूपमा प्रयोग गरेको थियो।

यु(आकारमा निर्मित भवनमा तीन खन्ड जोडिएको भवन तीन तलाको छ। भवनमा भित्र १९८ कोठा छन्। विश्वविद्यालयका गतिविधिबारे राष्ट्रपतिलाई अवगत गराउने उद्देश्यले पनि भवन उद्घाटनमा बोलाइएको रजिष्ट्रार अधिकारीले बताए।

तत्कालीन राजा वीरेन्द्र २०५४ सालमा प्रथम दीक्षान्त समारोहमा बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालय आएका थिए। राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति भण्डारीलाई निम्त्याउन थालिएको यो पहिलो प्रयास हो। राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजेतिर हेलिकप्टरमार्फत विश्वविद्यालय प्रांगणमा अवतरण गर्ने कार्यक्रम छ। राष्ट्रपति आउने भएपछि विश्वविद्यालय परिसर पनि सजाइएको छ।

नेपाल संस्कृत विश्वविद्यालयले पछिल्लो समय आयुर्वेदको पठनपाठन गरिरहेको छ। निकट भविष्यमा प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पठनपठान गराउने पनि तयारी भइरहेको उनले बताए। त्यसका लागि ४३ करोड रूपैयाँ लागत लाग्ने अनुमान पनि गरिएको छ।

प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी दुई सय शैय्याको एकीकृत शिक्षण अस्पताल निर्माण गर्न दुई आर्थिक वर्षमा ८ करोड ३० लाख र १० करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ। डिपिआर र वातावरणीय अन्तिम मूल्यांकन पूरा गर्दा शिक्षण अस्पतालका लागि कुल लागत ६८ करोड रूपैयाँ अनुमान गरिएको छ। बुलझण्डी विश्वविद्यालयको उत्तर तर्फको ६ बिघा क्षेत्रफलमा दुई सय शैय्याको उक्त अस्पताल निर्माण गर्ने लक्ष्य लिइएको छ। जहाँ प्राकृतिक चिकित्सा अध्यनगर्ने विद्यार्थीका लागि एक सय शैय्या र आयुर्वेद अध्ययन गर्नेका लागि एक सय शैय्या प्रयोग गरिने छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ११ बजे