काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।
राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।
नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।
प्रतिक्रिया