Logo

प्रदेश

संघीयता भित्र थुप्रै चुनौती र अवसर भएको नेता चौधरीको दाबी



दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले संघीयता भित्र थुप्रै चुनौती र अवसर भएको बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा स्थायी राजधानी राप्ती उपत्यका दाङमा भएको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले संघीयताको कुरा गरी रहँदा आफूहरू आज दोस्रो कार्यकालमा यहाँ आइपुगेको स्मरण गराउँदै नेता चौधरीले दोस्रो कार्यकाल सम्म आइपुग्दा पहिलो कार्यकाल अस्थायी राजधानी बुटवलमा वेतित गरेर दोस्रो कार्यकाल लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीमा आइपुगेको बताए ।

अहिले संघीयता भित्र थुप्रै चुनौतीहरु, थुप्रै प्रश्नहरु उठ्ने गरेको आफूहरूको काँनमा ठोकिँने गरेको उनको भनाई छ । उनले भने, ‘चुनौती र अवसर यो मानेमा छ कि संघीयता ठिक छ कि छैन भन्ने एक थरी लागेका छन, संघीयता बेठीक छ भन्ने पनि लागेका छन र अर्को थरी आफूहरू प्रदेश सभामा भएकोले संघीयता चाहिन्छ, मर्म, भावना र जनआन्दोलन बाट आएको हो भन्नेहरु पनि रहेका छन् ।’ आफूहरू प्रदेश सभामा भइरहँदा दुईवटा जिम्मेवारी काँधमा आएको बताउँदै संघीयताको औचित्य कसरी पुर्ती गर्ने र जनताको भावनालाई कसरी आफूहरूले एकीकृत गरेर लैजाने भन्ने अर्को जिम्मेवारी भएको बताए । थुप्रै नियम, कानुनहरु निर्माण भएको र हुने क्रममा भएको बताउँदै ती नियम, कानुनहरु लागु गर्न लायक छन कि छैन ? ती कानुनहरु लागू भएका छन कि छैन? त्यो जनताको पक्षमा छ कि छैन? यो नियम, कानुनले आफूहरूले चुनावमा गरेका बाँचाहरु पुरा हुन्छन कि हुँदैन? आफूहरूले जनतासँग भएका भावना सातासात हुन्छन कि हुँदैन? भन्ने कुराहरुलाई ध्यानमा राखेर यो सबै एक पटक पुनरावलोकन गरि आफूहरूले विचार गर्नुपर्ने बेला आएको समेत जिकिर गरे ।

नियम बनाउँदैमा ठूलो कुरा नभएको उद्घोष गर्दै आफूहरूले निर्माण गरेका नियम लागु गर्न नसकेमा त्यो नियम काँगजको टुक्रामा मात्र सिमित हुने उनको भनाई रहेको छ । गौतमबुद्धको जन्म स्थल लुम्बिनी भएकोले आफूहरूसँग हिमाल, पहाड, तराई, बर्दियाको बाघ हेर्ने क्षेत्र लगायत विभिन्न संस्कृतिहरु भएकाले आफूहरूको प्रदेश संस्कृतमा धनी भएको बताए । ‘पर्यटनमा धनी भएकाले त्यसलाई कसरी रोजगारमा बदल्न सक्छौं, गरीबीलाई कसरी उन्मुलन गर्न सक्छौं भन्ने कुरा लुम्बिनी प्रदेशको चुनौती र अवसर रहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ४४ बजे