रोल्पा । रोल्पाको जुगारमा त्रिवेणी गाउँपालिका स्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजनामा सुरु भएको पालिका स्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार उद्घाटन गरिएको हो । प्रतियोगितामा पालिका भित्रका करिब १२ओटा सामुदायिक विद्यालयहरुको सहभागी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिता १५, १६ र १७ गतेसम्म त्रिवेणी गाउँपालिका स्थित श्री जनजागृती माध्यमिक विद्यालयको खेलमैदानमा जारी रहने बताएको छ । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, कबड्डी र भलिबल लगायतका खेलकुदको आयोजना गरिएको छ । प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश पुनले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद माननीय ईश्वरी जिएमले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वस्थ रहने मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको समेत बताए ।लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुन मगरले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थी किताबको ज्ञानमा मात्र सिमित नभएर खेलकुद क्षेत्रमा पनि अब्बल हुनुपर्नेमा जोड दिए ।
साथै राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका खेलकुद भन्ने मुल नारालाई आत्मसात गरेर खेलकुद क्षेत्रमा अगाडि बढ्न समेत आग्रह गरे।गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा मगरले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने समेत बताए । विद्यार्थीले शैक्षिक स्तरमा मात्र नभई खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी भइ आफूमा भएको क्षमतालाई पर्दश्न गर्न गाउँ पालिकाअध्यक्ष बाँठा मगरले आग्रह गर्दै, त्यो वातावरण गाउँपालिकाले बनाउनुपर्ने र बनाइदिएको समेत बताए ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय ईश्वरी जिएमको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुन मगरको विशिष्ट आतिथ्यतामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ ।त्यस्तै छिमेकी जिल्ला सल्यानका कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन मगर, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगर, रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुन, त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष शान्त कुमार वली लगाएतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, राजनीति दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी मानुभाव, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी शिक्षक, विद्यार्थी, व्यापारी लगाएतको समेत सहभागीता रहेको थियो ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन त्रिवेणी गाउँपालिकाका कर्मचारी प्रेम प्रकाश पुन मगरले गरेका थिए ।









प्रतिक्रिया