Logo

समाचार

रोल्पामा पहिलो पटक स्नातकोत्तर कक्षा सञ्चालन हुँदै



रोल्पा । रोल्पामा पहिलो पटक स्नातकोत्तर कक्षा सञ्चालन हुने भएको छ । सदरमुकाम लिबाङ्मा स्थित जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गीक क्याम्पसको रूपमा रहेको सो क्याम्पसले चालु शैक्षिक शत्रदेखी स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत ‘पाठ्यक्रम र मुल्यांकन’ विषयमा अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम बहादुर खड्काले जानकारी दिए । स्नातकोत्तर कक्षा सञ्चालनका लागि भौतिक तथा मानवीय स्रोत उपलब्ध भएकाले तत्काल कम्तीमा दुई विषयमा कक्षा सञ्चालन गर्न सकिने भएपनि अहिले एउटा विषयको मात्र स्वीकृति पाएको खड्काको भनाई छ ।

‘अहिले विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन खुल्ला गरिरहेको छ,’ खड्काले भने, ‘त्यसका लागि माघ २१ मा प्रवेश परिक्षा सञ्चालन गरिएको छ भने फागुन ३ सम्म भर्ना समय तोकिएको र फागुन ५ देखि नियमित पठनपाठन शुरु गर्ने योजना छ ।’ रोल्पामा स्नातकोत्तर तहको पढाई पहिलो पटक हुन लागेको क्याम्पस प्रमुख खड्काको भनाइ रहेको छ ।

रोल्पा कक्षा सञ्चालनका लागि यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कुल अफ एजुकेशन’का डिन प्राध्यापक डा.लीलाधर तिवारी नेतृत्वको तीन सदस्यीय टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको थियो ।वि.सं. २०६१ सालमा स्थापना भएको जलजला बहुमुखी क्याम्पसमा हाल स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन भइरहेको छ । अहिले उक्त क्याम्पसमा ४ सय ८३ विद्यार्थीले अध्ययन गर्दै आइरहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

यस अघि जिल्लामा स्नातकोत्तर तहको पढाई नहुँदा यहाँका विद्यार्थीहरु दाङ, प्युठान, बुटवल, नेपालगञ्ज, काठमाडौं लगायतका स्थानमा जानुपर्ने बाध्य थियो । अहिले यसरी जिल्लामै स्नातकोत्तर तहको पढाई सञ्चालन हुने भएपछी विद्यार्थीहरु हर्षित भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : २० बजे