Logo

अर्थ

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ खुल्यो



काठमाडौ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबार गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता सेयर जारी गरेको हो।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले बताएको छ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा माघ १८ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयले भने फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ुकेयरएनपी डबल बी इस्युरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाहरूले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३९ बजे