Logo

गण्डकी प्रदेश

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, आजै शपथ



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ। उनलाई समर्थन गरेका सांसद मनाङे केही दिनअघि मात्रै नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका थिए। केन्द्रमा सत्ता गठबन्धनमा नरहेको उनको दलले अधिकारीलाई समर्थन गर्ने निर्णय नगरे पनि मनाङले उनलाई समर्थन गरेका हुन्।

नेकपा एमालेका संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित कास्की–१ (२) बाट चुनाव लडेका थिए। यद्यपि, उनले आफ्नो चाहना प्रतिनिधि सभामै रहे पनि पार्टीले प्रदेश पठाएको बताउँदै आएका छन्।

प्रदेशमा चुनाव लडेर फेरि मुख्यमन्त्री बन्ने चाहना राखेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङलाई उनकै समूहको जोडबलमा प्रतिनिधि सभाको टिकट दिइएको थियो। यसरी गुरूङलाई प्रतिनिधि सभामा पठाउन सफल भएका अधिकारी केन्द्रिय सत्तामा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्रीमा उनलाई चिठ्ठा परेको हो।

११ वर्षकै उमेरदेखि राजनीतिमा लागेका अधिकारी पहिलो पटक २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए। २०७४ को चुनावपछि प्रतिनिधि सभामा एमाले संसदीय दलको प्रमुख सचेतक बनेका अधिकारी १३ दिने गृहमन्त्री पनि हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उनलाई २०७८ जेठ २७ मा गृहमन्त्री नियुक्त गरेका थिए।

संसद विघटनपश्चात मन्त्रिपरिषद विस्तारका विरूद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले १३ दिनमै उनीसहित अन्य मन्त्रीलाई पदमुक्त गरिदिएको थियो। २०४८ सालदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका अधिकारी ३ पटक हार बेहोरेका थिए भने २ पटक जितेका थिए। ११ वर्षकै उमेरमा पोखरा–३१ को आनन्दज्योति माविको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका अधिकारी २०३३ सालमा नेकपा पुष्पलाल समूहको सदस्य बनेका थिए।

२०३६ सालमा अनेरास्ववियुको कास्की जिल्ला अध्यक्ष बने। त्यसपछि २०४० र २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति जिते।

२०३८ सालमा अनेरास्ववियुका केन्द्रिय सदस्य बनेका अधिकारी त्यसको २ वर्षपछि उपाध्यक्ष बने। अर्धभुमिगत रूपमा पञ्चायत विरुद्ध आन्दोलन गर्दा उनी २०४२ सालमा पक्राउ परे। पक्राउ परेपछि उनलाई कास्की, तनहुँ, रौतहटलगायतका जेलमा पठाइयो। प्रजातन्त्र पुनर्स्थापनापछि २०४६ सालमा मात्र उनी रिहा भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचन जितेर पहिलो पटक संसद छिरेका अधिकारीले २०५४ मा संसदीय दलको सचेतक बने। त्यसपछि लगातार चुनाव हारेका उनले २०७४ मा बाम गठबन्धनको उम्मेदवार बनेर कास्की–१ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : १४ बजे