काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान भएको भेटमा दाहालले नेपाल र यादवसँग विश्वासको मतबारे छलफल गरेका थिए।
दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन्। एकीकृत समाजवादीका अध्यक्ष नेपालले विश्वासको मत दिनेबारे आफूहरू छलफलकै क्रममा रहेको जवाफ दिएका थिए।
‘हाम्रो बीचमा विश्वासको मत लिनेबारे छलफल भयो। प्रधानमन्त्रीले विश्वासको मत पनि माग्नुभएको थियो,’नेपालले सेतोपाटीसँग भने,‘मैले विश्वासको मतबारे केही निर्णय गरेको छैन। यसबारे पार्टीको बैठक बसेर निर्णय हुन्छ भनेर भनेको छु।’
एकीकृत समाजवादीले प्रचण्ड सरकार निर्माण हुँदा समर्थन गरेको थिएन। प्रचण्ड सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे पार्टीमा दुई धार छन्। विश्वासको मत दिनुपर्छ भन्ने मत एकीकृत समाजवादीमा बलियो छ। माओवादी केन्द्रसँग पार्टी एकताबारे भने कुनै छलफल नभएको नेपालले बताए।
प्रतिक्रिया