रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पुष २४ गते (आज) देखि माघ ४ गते अर्थात ११ दिन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । यसै शैक्षिकसत्र देखि बर्खा र हिउँदमा गरी ४५ दिन बिदा दिने शिक्षा ऐनमै व्यवस्था भए अनुसार बिदा दिएको परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले जानकारी दिए । वलीले बताए अनुसार बर्खा बिदा १५ दिन श्रावण महिना गरि सकेको दशै तिहारमा १९ दिन बिदा गरेको र बाँकी ११ दिनलाई चिसो समयमा बिदा गर्ने निर्णय भएउको हो ।
परिवर्तन गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुको पुष १२ गते बसेको बैठकले बिदा गर्ने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए । परिवर्तन गाउँपालिकामा सामुदायिक विद्यालयहरु ४३ वटा रहेका छन भने संस्थागत ३ वटा गरी जम्मा ४६ विद्यालय रहेका छन । संस्थागत विद्यालय भने बन्द नरहेको परिवर्तन गाउँपालिकाले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको निर्णय अनुसार मात्र गर्नुपर्ने भएकाले गाउँपालिका सँग कुनै छलफल नभएको समेत बताइएको छ । आगामी बर्षमा संस्थागत विद्यालयहरुलाई पनि सामुदायिक विद्यालयको निर्णय भित्र समाबेश गर्ने समेत परिवर्तन गाउँपालिकाले बताएको छ ।
प्रतिक्रिया