Logo

Breaking News 1

गगन र विश्वप्रकाशसँग धुम्बाराहीमा छलफल गर्दै देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्। प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।
‘महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएको हो। यो औपचारिक छलफल होइन। सभापतिले अनौपचारिक रूपमा पार्टीका नेताहरूसँग दिनहुँजसो छलफल गरिरहनुभएको छ, यो छलफल त्यसैको निरन्तरता मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने। बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ। कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक राखेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।

सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आलोचना गर्दै आएका छन्। साथै उनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ५० बजे