Logo

गण्डकी प्रदेश

लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा



पोखरा । गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन् । २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन् । हालसम्म ५ सय ५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार त्यहाँ ५ सय ७३ घर निर्माण भएको छ ।

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो । पहिलो चरणमा २०७७ सालमा २ सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो । दोश्रो पटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए । अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले रोकिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उनका अनुसार केही घरधनीको मृत्यु समेत भैसकेको छ । सरकारले प्रत्येक परिवारलाई ३ आना जग्गा वितरण गरेको थियो । सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो ।

उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । तर घर भने निकै ढिलो गरि सम्पन्न भएको हो । गुप्सी पाखामा घर बनाइएपनि लाप्राकीहरु नयाँ घरमा सर्न भने आनाकानी गरिरहेका पुर्व वडाध्यक्ष राज गुरुङले बताए । अहिले पनि सबैजसो घरहरु खाली छन् । लाप्राकीहरु पूरानै घरमा बसिरहेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ४३ बजे