मलङ्गवा । बाक्लो हुस्सु र शीतलहरीका कारण तराई–मधेसको जनजीवन कष्टकर बनेको छ। तराईंका जिल्लामा बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।
मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो । तर बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।
कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र राम परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बताउँछन् ।
ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताए । ‘बिहानैदेखि घर बाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ,’ उनले भने ।
चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म ३ जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीका ३ जनाले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ ।
अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट बढी प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोले गाइ, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेका बताइएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।
अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिए ।
प्रतिक्रिया