Logo

मुख्य समाचार

राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन – माधव नेपाल


२९ मंसिर २०७९, बिहिबार  

2.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।

‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले भने, ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’

उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन’, नेता नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए ।

निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्छ । त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्छ, त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्नलाग्छ’, नेता नेपालले भने अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको पनि बताए । उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताए ।

पावर सेयरिङमा आफ्नो पार्टीले सम्मानजनक हैसियत खोज्नु स्वाभाविक रहेको अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ४१ बजे