Logo

अर्थ

त्रिशुली जलविद्युत्‌को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो



काठमांडौं । सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ)मा चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म आईपीओ जारी गरेको थियो ।

कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो । यो सेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । यो सेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

यो सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो । यस अवधिमा आवेदन नदिएका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरूलाई भुक्तानीका लागि म्याद थपिएको थियो । बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिसेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा मंसिर १८ गते अर्थात आजदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्न माग गरेको छ ।

यस अवधिसम्ममा रकम नबुझाउने साविक सेयरधनीहरूको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : १४ बजे