काठमाडौं । मधेसमा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा शून्य बनेको छ । त्यहाँ माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गिरिराजमणि पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य भएको हो । एमालेका उम्मेदवार महतो २३ हजार ४०२ मत ल्याएर विजय भएका छन् भने माओवादी केन्द्रका उपमहासचिव पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका छन् ।
नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवमात्र सर्लाहीबाट विजयी भएका छन् । माओवादी केन्द्रले प्रदेश सभातर्फ भने चारवटा सीट जितेको छ । पर्सा १ (क) मा माओवादी केन्द्रका रोहवर अन्सारी, सर्लाही ४ (ख) मा फकिरा महतो, महोत्तरी १ (ख) बाट भरतप्रसाद साह र रौतहट ४ (क) मा युवराज भट्टराई प्रदेशसभा सदस्यमा विजय भएका छन् ।
मधेस प्रदेशको प्रतिनिधि सभातर्फ ३२ वटा क्षेत्रमध्ये सात ठाउँमा मात्र माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दिएको छ । प्रदेश सभातर्फ ६४ वटा क्षेत्रमध्ये १७ ठाउँमा मात्र उम्मेदवारी दिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभामध्ये कहीँ अग्रता लिएको छैन ।
सप्तरी र पर्सामा प्रतिनिधि सभातर्फ उम्मेदवारी नै दिएको छैन भने सिरहामा एक ठाउँमा उम्मेदवारी दिएको थियो । सिरहाको ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका विश्वनाथ साहले एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठबाट पराजित भएका छन् ।
त्यस्तै, धनुषा १ मा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले जसपाका दीपक कार्कीबाट पराजित भएका छन् । महोत्तरी १ मा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल एमालेका उम्मेदवार लक्ष्मी महतोबाट चुनाव हारेको छन् ।
सर्लाही ३ मा नरेन्द्र साह कलवार एमालेका हरिप्रसाद उप्रेतीसँग पराजित भएका छन् । रौतहट ३ मा माओवादी केन्द्रले रवीन्द्र पटेललाई उम्मेदवार बनाएको थियो । तर प्रभु साह एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादी केन्द्रले उनलाई सघाएको छ । प्रभु साह पनि चुनाव जितिसकेका छन् ।
बारा २ मा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार कुशवाहा पनि जसपाका रामसहाय यादवसँग पराजित भएका छन् ।
प्रतिक्रिया