Logo

गण्डकी प्रदेश

लमजुङ–१ मा जमिन्द्रमान र टकराज दोस्रो पटक आमनेसामने, कसले मार्ला बाजी ?


३० कार्तिक २०७९, बुधबार  

414
Shares

लमजुङ । निर्वाचनको मिति नजिकिँदै जाँदा लमजुङमा उम्मेदवारको पक्ष विपक्षमा मत विभाजनसँगै जीत हारको चर्चा परिचर्चा चल्न थालेको छ ।

यसपटक लमजुङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा पुन: एमालेका जमिन्द्रमान घले र नेपाली कांग्रेसका डा. टकराज गुरुङ आमनेसामने छन् ।

उनीहरू दुवैजना २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी थिए । एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले यसपटक प्रतिनिधि सभा निर्वाचन लड्न चाहन्थे । कांग्रेस जिल्ला सभापति रहेका डा. टकराजपनि प्रतिनिधिसभा मै सिफारिस भएका थिए । तर, पार्टीले दुवैलाई प्रदेशमा झार्‍यो । घले र गुरुङ अहिले प्रदेशमा प्रतिष्पर्धा गर्दैछन् ।

दोस्रो संविधानसभामा गुरुङलाई ७ सय ९८ मतले हराएर घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक घले आफ्नो जीतको विरासत जोगाउन कस्सिएका छन भने गुरुङ विरासत तोड्न ।
विगतमा कांग्रेसको ‘किल्ला’का रूपमा रहेको यस क्षेत्र २०६४ पछि बामपन्थी दलले कब्जा गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका बुद्धिराम तमु निर्वाचित भए ।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका घले निर्वाचित भए भने ०७४ मा प्रदेशसभामा बाम गठबन्धनबाट एमालेका धनन्ञ्य दवाडी निर्वाचित भए ।

यतिबेला दुवैले चुनावी प्रचार तीव्र बनाएका छन् । दुवैले चुनाव जित्ने दावी पनि गरेका छन् । गठबन्धन भएकाले टकराज आफूले चुनाव जित्ने दावी गर्छन् ।

जमिन्द्रमान आफ्नो संगठन र लोकप्रियता राम्रो भएकाले चुनाव जित्ने बताउँछन् । दुवैको एउटै लक्ष्य छ, आफूले चुनाव जितेमा कृषि, पर्यटन, जलस्रोतसहित विकासका पूर्वाधारहरूमा काम गर्ने ।

लमजुङ प्रदेश १ मा ४ स्थानीय तह छन् । जसमध्ये २ वटा गाउँपालिकामा एमालेका अध्यक्ष, एउटा गाउँपालिका र एउटा नगरपालिकामा कांग्रेसले प्रमुख जितेका छन् ।

एमाले र कांग्रेसले एक–एक उपाध्यक्ष जित्दा माओवादीले दुईवटा उपप्रमुख जितेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमाले प्रतिस्प्रर्धी थिए। प्रदेश ‘१’ मा पर्ने बेंसीसहर नगरपालिका–१० र ११ वडाको अध्यक्ष एमालेले जितेको छ ।

प्रमुख/अध्यक्ष तथा वडाअध्यक्षले पाएको मतअनुसार एमालेभन्दा गठबन्धन ४ सय २१ मत अगाडि छ । एमालेले १९ हजार ७ सय ६ ल्याउँदा गठबन्धनले २० हजार १ सय २७ मत ल्याएका छन् ।

यी दुईमध्ये कुन नेताले बाजी मार्छन त्यो थाहा पाउन मंसिर ४ कुर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ११ बजे