Logo

समाचार

रोल्पाबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले ठूलो संघर्ष गरेको छ : अमरसिंह पुन



रोल्पा । नेपाली कांग्रेसका लुम्बिनी सभापति एवम बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं. २ (ख) रोल्पाका प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले रोल्पाबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताएका छन् । निर्वाचन परिचालन समिति त्रिणेवी गाउँपालिका–७ तिला, गैरीगाउँ रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रमको प्रमुख अतिथीको रूपमा बोल्दै सो कुरा बताएका हुन् । पुनले नेपाली कांग्रेस र माओवादी अगाडि देखीनै मिल्दैन आएको बताउदै, ब्राह बुँदे सम्झौता र बृहत शान्ति सम्झौता नेपाली कांग्रेसको नेतृत्वमा भएको समेत बताए ।

हिजोको संघर्ष नेपाली कांग्रेस र माओवादीको विरुद्ध नभएर राज्यको विरुद्ध भएको समेत जिकिर गरे । दुबै दल मिलेर शान्ति प्रक्रियाको सुरुवात गरेको र संघीय लोकतन्त्र, गणतन्त्र स्थापना गरि देशमा संविधान निर्माण गरेको उनले बताए । ‘जब देश अप्ठ्यारो परिस्थिति आउँछ तब नेपाली कांग्रेस र माओवादीले देशको निकासका लागि सँगै एकजुट भएर काम गर्ने गरेको छ ।’ पुनले भने । पहिलेनै नेपाली कांग्रेसले हँसियाहथौडामा र नेकपा माओवादी केन्द्रले रुखमा मतदान गरि देशको प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सांसद, प्रतिनिधि सभा र प्रदेशका सांसद लगायतलाई चुनावको माध्यमबाट संसदमा पठाएको उनको भनाई छ ।

रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बर्षमान पुनले मैले माओवादीको मतले जितेको हुँ भन्न नमिल्ने र आँफुले पनि प्रदेश सभा सदस्यमा कांग्रेसको मतले मात्र जितेको हुँ भन्न नमिल्ने उनको भनाई छ । सबै रोल्पाली जनताले आफ्नो अमुल्य मतदान दिएर बिजय गराएको भन्नुपर्ने अवस्था आउने समेत उनले बताए । बाम लोकतान्त्रिक गठबन्धन गर्नुको कारण संविधानको रक्षा, राजनीतिक स्थायीत्व, समृद्धि र विकासकालागि आफूहरूलाई रोल्पाली जनताले आफ्नो अमुल्य मत दिई बिजय गराउन सहयोग गर्न उपस्थित सबैलाई उनको आग्रह छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ४५ बजे