रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले आइतबार बजार तथा पसलको अनुगमन गरेको छ । नेपालीहरुको महान चार्ड तिहारलाई लक्षित गरि उपभोक्ता हित संरक्षण समितीले आफ्नो पालिका भित्र रहेका मुख्य बजार तथा पसलको अनुगमन गरेको हो ।
समितिले खाद्य र उपभोग्य सामानको अनुगमन गरेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ । परिवर्तन गाउँपालिका–६ दुईखोली, लाखुरीचौर, परिवर्तन गाउँपालिका–२ साङसीको पोखरा, धर्मशाला, डाँडागाउँ र परिवर्तन गाउँपालिका–३ बागमाराको माथिल्लो बजार तथा तल्लो बजारका करिब २० वटा पसलको अनुगमन गर्दा विभिन्न पसलका करिब १० पसलबाट म्याद नाघेका सामानहरु बरामद गरेको छ । जसमा चामलका बोरा, बिस्कुट, चाउचाउ, तेल, नमकिन, मसला, भुजा, स्वाबिन तथा कस्मेटिका सामान रहेका छन् ।
पसल सञ्चालकले म्याद जान लागेका सामान म्याद जानू भन्दा पहिल्यै हटाउन वा सम्बन्धित कम्पनीलाई फिर्ता गर्न आग्रह सुझाव दिएको छ ।अनुगमनका क्रममा बरामद गरेका म्याद नाघेका सामान परिवर्तन गाउँपालिकाले छलफल गरी तिहारपछी नष्ट गर्ने जनाएको छ। साथै धेरै पसलले पालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएकोले अनिवार्य पालिकामा दर्ता गरि सञ्चालन गर्न उपभोक्ता हित संरक्षण समितिले आग्रह समेत गरेको छ ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको बजार तथा पसल अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने, ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकी, अस्थायी प्रहरी कार्यालय पुतलाचौरका प्रहरी सहायक निरीक्षक भोजराज बुढामगर, परिवर्तन गाउँपालिकाका उद्योग वाणिाज्य संघका संयोजक प्रेम कुमार बुढा मगर र पत्रकार सुर्य प्रकाश बुढा मगरलगायतको सहभागिता रहेको थियो ।
परिवर्तन गाउँपालिकाको बजार तथा पसल अनुगमन दुईखोली र बागमारामा दोस्रो पटक गरेको हो भने, राङ्सीको पोखरा बजार, धर्मशाला, डाँडागाउँ र लाखुरीचौरमा पहिलो पटक गरेको छ । साथै पहिलो पटक अनुगमन भएको बागमारा केही सुधार भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजार अनुगमन निरन्तर हुने उपभोक्ता हित संरक्षण समितिले बताएको छ ।
प्रतिक्रिया