Logo

समाचार

सिमसार जाने सडक कालोपत्रे गरिने



उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका– ४ को विकास चोकदेखि, बर्मजिया, सिमसार, तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।

कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले ९७ लाख बजेट बिनियोजना गरेको जानकारी दिए । त्यसैगरी प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले यही सडकलाई ९७ लाख नै बजेट छुट्याएको नगर प्रमुख श्रेष्ठले बताए । कटारी बजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछि यसलाई स्तरउन्नती गर्न मन्त्रालय तयार भएको हो ।

‘दुई वटा बजेट छुट्टाछुट्टै हो की एउटै हो यकिन गर्दछौं नगर प्रमुख श्रेष्ठले भने’ दुवै बजेट आए कालोपत्रे गर्ने तयारीमा छौं । यस अघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ बाट प्राविधिकहरु आएर यसको सर्वेक्षण गरि सकेका छन् । त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गतका प्राविधिकहरुले समेत यस सडकको पहिलो चरणको सर्वेक्षण गरि सकेको छ ।

सिसाघारी सामुदायिक बन उपभोक्ता समितिद्वारा निर्मित र संञ्चालित सिमसार तथा पर्यापर्यटन क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गरेको समितिका संयोजक दिलबहादुर अधिकारीले बताउँछन् । मूख्य गरी कच्ची बाटोका कारण समस्या भएकाले सडक कालोपत्रे बने यो प्रदेश १ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाई छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ०८ बजे