Logo

कर्णाली प्रदेश

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु


१३ आश्विन २०७९, बिहिबार  

621
Shares

जुम्ला । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ ।

हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका- १ को बझाङगे खोलामा भएको हो । दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ ।

जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका-१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठान पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ५ : ११ बजे