इस्लामाबाद । जलवायु परिवर्तनका कारण आएको असामान्य रूपमा भारी मुसलधारे वर्षाले देशको एक तिहाइ भाग डुबानमा परेको र १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएपछि पाकिस्तानले ताजा बाढी र थप मृत्युको जोखिम सामना गरिरहेको छ ।
कतिपय क्षेत्रमा पानी कम हुन थाले पनि छिमेकी भारतका केही भागमा भारी वर्षाले पाकिस्तानका प्रमुख नदीहरू बग्न सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले थप सम्पत्ति र जीवनको क्षतिबाट बच्न पाकिस्तानका केही क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्न सुझाव दिएको छ । पाकिस्तान एक दशकपछिकै ठूलो बाढीको चपेटामा परेको छ । विनाशकारी बाढीले क्षति पु¥याउँदा लाखौँ मानिस विस्थापित छन् ।
बाढीले झन्डै साढे ३ करोड पाकिस्तानी प्रभावित भएका छन् । बाढीबाट १० अर्ब डलरबराबरको क्षति भएका अनुमान छ । पहिले नै आर्थिक संकटमा परेको देशका लागि यसको प्रभाव थप विनाशकारी सावित भएको छ । बाढीले ठूलो असर गरेपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने क्रम बढ्दो छ ।
पाकिस्तानमा अहिले आएको विनाशकारी बाढी र त्यसले देशमा पु¥याएको क्षतिलाई विज्ञहरूले जलवायु परिवर्तनको परिणामसँग जोडेका छन् ।
दक्षिण एसियाका अन्य देशजस्तै पाकिस्तान पनि मनसुन र वर्षाका लागि अभ्यस्त छ । म्यासाचुसेट्सको वुडवेल क्लाइमेट रिसर्च सेन्टरका जलवायु वैज्ञानिक जेनिफर फ्रान्सिसका अनुसार जलवायु परिवर्तनले चरम वर्षा भएको हो ।
पाकिस्तान जलवायु परिवर्तनका दृष्टिले विश्वका जोखिम देशहरूमध्ये एक हो । वर्षा, गर्मी र पग्लिने हिमनदी सबै जलवायु परिवर्तनका कारक हुन्, जसबारे वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् ।
प्रतिक्रिया